कैलाली,१ असोज / कैलालीको घोडाघोडी नगरपालिकामा जापानिज इन्सेफलाइटिस (जेई) को खोप अभियान सुरु गरेको छ ।
जेइ सङ्क्रमणबाट दुई जनाको मृत्यु भएपछि स्वास्थ्य शाखाले रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरेका हो ।
नगरपालिकाका १३ वटा स्वास्थ्य संस्थामार्फत १२ वटा वडामा बिहीबारदेखि खोप अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य शाखाका अनुसार अभियानअन्तर्गत ३० वर्ष उमेर पुगेका तथा सोभन्दा माथिका नागरिकलाई असोज ७ गतेसम्म जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइने भएको हो । अभियान सुरु भएसँगै विभिन्न खोप केन्द्रमा बिहानैदेखि खोप लगाउने नागरिकको भीड लागेको छ ।
नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराका अनुसार घोडाघोडीमा पछिल्ला तीन वर्षयता जापानिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका छन् । सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य शाखाले खोपसँगै समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्रता दिएको छ ।
घोडाघोडी नगरपालिकामा आर्थिक वर्ष २०८१–८२ मा वडा नं. ५ र ६ का दुई जनाको जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु भएको थियो । यसअघि वडा नं. ४ का एक जनामा समेत सङ्क्रमण देखिए पनि उपचारपछि निको भएका थिए । यस वर्ष दुई जनाको मृत्यु भएपछि स्वास्थ्य शाखाले रोगको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेको हो ।
स्वास्थ्यकर्मीका अनुसार जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमित सुँगुर वा बंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन, राति झुल प्रयोग गर्न, घर वरिपरि पानी जम्न नदिन तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने जस्ता लक्षण देखिएमा घरमै उपचार गरेर नबस्न र तत्काल नजिकको स्वास्थ्य संस्थामा बिरामीलाई पु¥याउन आग्रह गरिएको छ ।