महेन्द्रनगर,२८ भदौ / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिनए ।
हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनले बताए । हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताए । हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसित समन्वय गरिरहेको उनको भनाइ छ ।