धनगढी २९ भाद्र/कैलालीको धनगढी –६ ढुङ्गेबजार स्थित श्रीकृष्ण मन्दिरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा असोज १ गतेदेखि १० गतेसम्म विश्वकल्याण, धार्मिक तथा आध्यात्मिक जागरणको उद्देश्यसहित महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
महायज्ञ अन्तर्गत असोज १ गते बिहान ७ बजे कलश यात्रा र बिहान ११ बजे उद्घाटन कार्यक्रम राखिएको छ । महायज्ञमा दैनिक बिहान योगाभ्यास तथा ध्यान, पूजा तथा मूलपाठ पारायण, देवी भागवत कथा वाचन, आरती, फूलप्रसाद ग्रहणलगायतका धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् । दिउँसो कथा वाचन तथा प्रवचन र साँझ भजन–कीर्तन तथा सांस्कृतिक प्रस्तुतिसमेत हुने श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण जोशीले जानकारी दिएका छन् । प्रमुख कथाबाचक ज्योतिस खगेन्द्रराज अबस्थी र कथाबाचकमा सत्यराज अबस्थी रहेका छन् ।
महायज्ञका प्रमुख कथा वाचक ज्यो.पं. श्री खगेन्द्र राज अवस्थी रहेका छन् । आयोजकका अनुसार महायज्ञमा हवन, तुलादान, ज्येष्ठ नागरिक सम्मान, कन्यापूजन, अन्नदान तथा विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ । महायज्ञबाट संकलित सहयोग रकम श्रीकृष्ण मन्दिरको स्तरोन्नति तथा व्यवस्थापनमा प्रयोग गरिने आयोजकले जनाएको छ ।