कञ्चनपुर ३० भाद्र/ कञ्चनपुरको पुनर्वास नगरपालिका-३ स्थित आईबीआरडी बजारमा चार–पाँच जनाको समूहले एक युवकलाई खुकुरी प्रहार गरी कुटपिट गरेको छ।
बेलडाँडी गाउँपालिका-३ कमरी निवासी २४ वर्षीय इन्द्र रानामाथि गुगल मोबाइल ग्यालरी चोकस्थित अस्थायी प्रहरी पोस्टनजिकै खुकुरी प्रहार भएको हो। घाइते रानाको पुनर्वास पोलिक्लिनिकमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर कार्कीका अनुसार खुकुरी प्रहारपछि समूह फरार भएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।