डडेल्धुरा,११ जेठ / प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमरगढी नगर इकाई समिति, डडेल्धुराको आयोजनामा एक दिवसीय नगर अभ्यास वर्ग भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। “ज्ञान, शील, एकता” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै राष्ट्र निर्माणका लागि असल, चरित्रवान, नैतिकवान, इमानदार तथा अनुशासित व्यक्तित्व निर्माण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यार्थी जीवनलाई केवल शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नभई व्यक्तित्व विकास, नेतृत्व निर्माण तथा समाजप्रतिको जिम्मेवारी बोध गराउने महत्वपूर्ण चरणका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले राष्ट्र प्रथम भावनालाई केन्द्रमा राख्दै दलगत तथा सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर सकारात्मक, सिर्जनशील र राष्ट्रहितमुखी शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
अभ्यास वर्गमा व्यक्तित्व विकास, नेतृत्व निर्माण, संगठनात्मक सुदृढीकरण, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, विद्यार्थीको भूमिका तथा राष्ट्र निर्माणमा युवाशक्तिको योगदानका विषयमा गहन छलफल गरिएको थियो। वक्ताहरूले युवाहरूलाई सकारात्मक सोच, अनुशासन, सेवाभाव र नेतृत्व क्षमतासहित समाज परिवर्तनमा सक्रिय हुन प्रेरित गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता अभ्यास वर्गले अध्ययनसँगै व्यवहारिक जीवन, नेतृत्व क्षमता तथा समाजप्रतिको कर्तव्यबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। अभ्यास वर्गले सहभागीहरूमा बौद्धिक जागरण, आत्मविश्वास, संगठनात्मक समझदारी तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गरेको विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममार्फत २८ सदस्यीय अमरगढी नगर इकाई समिति गठन गरिएको छ। नवगठित समितिले आगामी दिनमा विद्यार्थी हित, शैक्षिक सुधार, सामाजिक सेवा, राष्ट्रहित तथा बौद्धिक विकाससँग सम्बन्धित विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै आगामी एक वर्षका लागि विस्तृत वार्षिक कार्ययोजना समेत निर्माण गरिएको परिषदका सुदूरपश्चिम प्रदेश सदस्य कृष्ण धामीले जानकारी दिएका छन्।
कार्यक्रमभर अनुशासित, सौहार्दपूर्ण तथा प्रेरणादायी वातावरण देखिएको थियो। सहभागीहरूबीच आपसी सहकार्य, एकता र सकारात्मक सोचको भावना थप मजबुत बनेको अनुभूति गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले “सक्षम विद्यार्थी, सशक्त समाज र समृद्ध राष्ट्र” निर्माण गर्ने विद्यार्थी परिषदको अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।