धनगढी, ७ जेठ / श्रम तथा शोषणको जोखिममा रहेका बालबालिकाको संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने तालिम सम्पन्न भएको छ।
विकासका लागि युवा एकीबद्धता (यार्ड) सुदूरपश्चिम संस्थाले “कर्पोरेट को-फाइनान्सिङ प्रोजेक्ट ” अन्तर्गत धनगढीमा तालिम सञ्चालन गरेको हो। तालिममा बालमैत्री स्थानीय शासन सम्बन्धी छलफल भएको थियो ।
तालिममा स्थानीय जनप्रतिनिधि, बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, वडा स्तरीय बाल अधिकार समिति, नगर स्तरीय समिति,सञ्चारकर्मी तथा बाल सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालअधिकार, बाल संरक्षण, स्थानीय तहको भूमिका तथा बालमैत्री शासन कार्यान्वयनका विषयमा छलफल गरिएको बताइएको छ।
तालिमका क्रममा सहभागीहरूलाई बालमैत्री स्थानीय तह घोषणा प्रक्रियाबारे जानकारी गराइनुका साथै बालमैत्री योजना निर्माण, बाल संरक्षणका मापदण्ड र बाल सहभागिताको महत्वबारे सहजीकरण गरिएको यार्डकी प्रतिनिधि सुमिता खड्काले जानकारी दिइन् ।
कार्यक्रमका सहभागीहरूले स्थानीय तहमा बालबालिकामैत्री वातावरण निर्माण गर्न यस्ता तालिम प्रभावकारी हुने बताएका छन्।