काठमाडौं, ३० पुस / नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेटवार्ता गरिरहेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले अहिले बिहान भेटवार्ता गरेका हुन् ।
यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिए थियो । देउवा निकट एक नेताका अनुसार छलफलका लागि सभापति देउवाले दुई महामन्त्रीलाई बोलाएका हुन् ।
विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाउँदैछ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।
रातभरिका विभिन्न चरणमा भएका वार्ता पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न लागिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
विशेष महाधिवेशन प्रचार-प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै निर्वाचन कार्यक्रम अगाडि बढाइएको बताए ।
उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौं । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’