धनगढी । भीमदत्त नगरपालिका–१८ का पूजाशाहीले १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगेकी थिइन्। स्वास्थ्यकर्मीले शिशुको तौल ६ किलो ४०० ग्राम मात्र पाएको देख्दा उनलाई पोषण पुनःस्थापना कक्षमा भर्ना गर्न सल्लाह दिइयो। उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्ने भए पनि कुपोषण भएको पाइएको थियो।
अस्पतालमा भर्ना भएदेखि १० दिनमै शिशुको तौल ७०० ग्रामले बढेको छ। पोषण पुनःस्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइन्छ। पूजाका साथै बागबाणीकी गीता सेवा र भीमदत्त–३ की विस्ना बोहरा पनि आफ्ना शिशुलाई भर्ना गराएकी छन्।
महाकाली प्रादेशिक अस्पतालका अनुसार चालु आर्थिक वर्षमा ३२ शिशु पोषण पुनःस्थापना गृहमा भर्ना भएका छन्। पाँच वर्षमुनिका बालबालिकाका लागि यो सेवा निःशुल्क उपलब्ध छ। प्रमुख इन्द्रा भट्टका अनुसार भर्ना हुने बालबालिकाको सङ्ख्या कम भए पनि शहरी क्षेत्रका बालबालिकामा कुपोषण बढी देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार, आव २०७९र८० देखि २०८१र८२ सम्म कडा तथा मध्यम कुपोषण भएका बालबालिकाको संख्या थोरै घट्दो भए पनि अझै चुनौतीपूर्ण छ। स्वास्थ्यकर्मीहरूले स्तनपान र नियमित पोषणको अभावले बालबालिकामा कुपोषण देखिएको बताए।
डा. विपिन लेखकका अनुसार राज्य यस समस्या समाधानमा गम्भीर छ। समुदायस्तरमा चेतनामूलक कार्यक्रम र आमा–बच्चाको पोषणमा ध्यान दिनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताउँछन्।