धनगढी । कैलालीको चुरे गाउँपालिका–३ को बसर युवा क्लबले डोटीको जोरायल गाउँपालिकामा रहेको बुडर झरना वरपर सरसफाई गरेको छ। दसैँको अवसरमा भ्रमणका क्रममा क्लबका सदस्यहरू बुडर झरना, छतिवन ताल र वरपरका धार्मिक स्थलहरू अवलोकनका लागि पुगेका थिए। प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त स्थलमा फोहर देखेपछि उनीहरूले स्वेच्छाले सरसफाई कार्यमा जुटेका हुन्।
“आफ्नो फोहर आफैँ सफा गरौं” भन्ने सन्देशसहित गरिएको सो सरसफाई अभियानले स्थानीय तथा पर्यटकहरूलाई धार्मिक र पर्यटकीय स्थल सफा राख्ने सन्देश दिएको क्लबले जनाएको छ।
बसर युवा क्लबले चुरे क्षेत्रमा कृषि, पर्यटन र खेलकुदका माध्यमबाट गाउँको विकास र प्रचार–प्रसारमा निरन्तर योगदान दिँदै आएको छ। क्लबका अध्यक्ष गणेश देउवाले भने “हामीले केवल सरसफाई मात्र होइन, चुरेको सम्भावना र सौन्दर्य पनि सबैमाझ उजागर गर्न खोजिरहेका छौँ ।,”
आगामी दिनमा पनि यस्ता सकारात्मक अभियान निरन्तर चलाउने उनले बताए ।
