धनगढी, ३१ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेन्जी समूहले गत भदौ २४ गते गरेको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका संरचनाहरूको अनुगमन गर्नुभएको छ।
मुख्यमन्त्री शाहले आज धनगढीस्थित विभिन्न सरकारी कार्यालयहरूमा पुगेर क्षतिको अवस्था अवलोकन गर्नुभएको हो। अनुगमनका क्रममा उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा, जिल्ला अदालत कैलाली, डिभिजन वन कार्यालय धनगढी लगायतका कार्यालयहरूको निरीक्षण गर्नुभएको छ।
अनुगमनपछि मुख्यमन्त्री शाहले प्रदेश सरकार सार्वजनिक सम्पत्ति र संवैधानिक अंगहरूमा भएको क्षतिप्रति गम्भीर रहेको बताउनुभएको छ। जेन्जी समूहको आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा भएको तोडफोड र आगजनीका कारण करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
