धनगढी, ३० भदौ / धनगढीको पार्कमोडमा ऐतिहासिक ‘जेन–जी’ आन्दोलनका क्रममा सहादत प्राप्त वीर सहिदहरूलाई सम्झेर दीप प्रज्वलन गरिएको छ। भदौ २३ र २४ गतेको आन्दोलनमा जीवन अर्पण गरेका बझाङका सुवास बोहरा, बैतडी घर भई हाल धनगढी तारानगरका गौरव जोशी, बैतडीकै दीपक साउदसहित सम्पूर्ण ‘जेन जी’ सहिदप्रति श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन गरिएको हो।
दीप प्रज्वलन कार्यक्रममा नागरिक समाज, धनगढीका बौद्धिक वर्ग, बैतडी समाज, दशरथ चन्द बैतडी विद्यार्थी समाज, दृष्टि फाउन्डेसन धनगढी, लायन्स क्लब अफ धनगढी आरम्भलगायत, प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले सहिदहरूको बलिदान सधैं प्रेरणाको स्रोत बन्ने बताए। शहीदहरूका सपना हामी सबैका साँझा सपना भएकाले ती सपना पूरा गर्नु हामी सबैको कर्तव्य भएको समेत बताए।
त्यस्तै, धनगढीको पार्क मोडमा बझाङ्गी सुर्मादेवी समाज र नाष्ट कलेज धनगढीले पनि छुट्टाछुट्टै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा ‘जेन जी’ वीर सहिद सुवाष बोहराकी ममतामयी आमासहितको उपस्थिति रहेको थियो।
