धनगढी, २६ भदौ / जेनजी आन्दोलन उग्र बनेपछि सुदूरपश्चिमका विभिन्न कारागार कब्जा गर्दै प्रदर्शनकारीले १ हजार ४ सय ६ कैदीबन्दीलाई भाग्न सहयोग गरेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरका ९ जिल्ला कारागारमा १ हजार ७०१ कैदी कैद भुक्तान गरिरहेका थिए। आन्दोलनकै क्रममा कारागार तोडफोडपछि ठूलो संख्यामा कैदी फरार भए पनि ६९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर पुनः कारागारमा राखिएको छ।
सबैभन्दा बढी क्षति कैलाली कारागारमा भएको छ, जहाँ ६ सय ६७ मध्ये ६ सय ६६ कैदी फरार भएका छन्। कञ्चनपुर कारागारबाट पनि ४५८ कैदी भागेका छन् भने १४ पक्राउ परेका छन्। डोटीस्थित बालसुधार गृहमा रहेका ५३ मध्ये ५२ जना फरार भएका छन्। यस्तै बझाङमा ८५ मध्ये ६५ कैदी भाग्दा ५ पुनः नियन्त्रणमा लिइएका छन्। बैतडीमा ६२ मध्ये ६१ जना भागेका छन् भने दार्चुलामा ७७ मध्ये ७१ फरार भएको प्रहरीले जनाएको छ। अछाम, डोटी र बाजुरा कारागारमा भने सामान्य स्थिति रहेको छ।
निषेधाज्ञा र कर्फ्यूपछि सुरक्षाकर्मीहरूलाई कारागार वरिपरि कडा निगरानीमा खटाइएको छ। फरार कैदीहरूको खोजी जारी छ।