धनगढी,२१ भदौ । कैलालीको कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहका महिलालाई ढकिया, डेलुवा, डोकोलगायतका हस्तकलाका सामग्री बनाउन हात खुट्टा भ्याउनै नसक्ने अवस्था आएको छ।
जंगल, नदी र खोला किनारमा पाइने काँसजस्ता कच्चा पदार्थ प्रयोग गरेर बनाइने यी परम्परागत सामग्रीको व्यापार फस्टाएपछि महिलाहरु दिनरात व्यस्त बनेका हुन्। समूहकी सदस्य सञ्जिता चौधरीका अनुसार फुटकरभन्दा थोकमा सामग्री पठाउँदा अझ बढी नाफा हुने गरेको छ।
हाल छ जना महिलाले निरन्तर उत्पादन गरिरहेका छन्। “खर्च खासै छैन, मेहनत मात्र चाहिन्छ। जति धेरै बनाउन सकिन्छ, उति नै आम्दानी हुन्छ,” चौधरी भन्छिन्।
सानैदेखि थारु समुदायमा सिकिएको सीपलाई व्यवसायमा परिणत गरेको अर्की सदस्य फूलकुमारी चौधरीले कामको दाम पनि सन्तोषजनक रहेको बताइन्।
स्थानीय सुनिता चौधरीका अनुसार यस्ता परम्परागत हस्तकला उद्यमले महिलालाई आत्मनिर्भर बनाउनसँगै गाउँमा गरिबी निवारणमा पनि ठूलो टेवा पुगेको छ।