धनगढी , २० भदौ / लोक सेवा आयोगको हीरक जयन्ती वर्ष–२०८२ को अवसरमा शुक्रबार धनगढीमा “विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम” गरिएको छ। लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
लोक सेवा आयोग पहुँच (PSC Outreach) अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा “योग्यता, निष्पक्षता र स्वच्छता : लोक सेवा आयोगको प्रतिवद्धता” भन्ने नारालाई प्रमुख विषय बनाइएको थियो। लोकसेवा आयोगले काम गर्ने विधि विधानको बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो।
सुदूरपश्चिम प्रदेश लोकसेवामा वागमती प्रदेश भन्दा मात्रै अगाडि अर्थात् छैटौं नम्बरमा (१२.२४) प्रतिशत रहेकाले लोकसेवामा नाम निकाल्ने दर पनि सुदूरपश्चिमले बढाउनु पर्ने आवश्यकता रहेको समेत लोकसेवा आयोगका अध्यक्ष रेग्मीले औंल्याए। कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशमा शिर्ष स्थानमा र देशभरिमै पाँचौं स्थानमा रहेकाले लोकसेवाका लागि राम्रो सम्भावना भएको प्रदेश समेत रहेको बताए।
कार्यक्रम बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले लोकसेवा मात्रै एउटा स्वच्छ संस्था हो, यसलाई यसै राख्न हामीसबैले लाग्नु पर्ने बताए। धनगढी उपमहानगरपालिका लोकसेवा आयोगसँग सहकार्य गर्न तयार रहेको समेत जानकारी गराए ।
लोकसेवा विज्ञ डा.देवीदत्त भट्टले निरन्तरता दिन सके लोकसेवामा सफल भइन्छ, भन्दै सहभागीहरुलाई जागरुक बनाए । कार्यक्रममा लोकसेवा आयोगका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, कैलाली जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट सहभागी भएका विद्यार्थी प्रतिनिधि, सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी , कर्मचारी लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुलाई लोकसेवा आयोगका सदभावना दूत घोषणा गर्दै लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले प्रमाणपत्र समेत वितरण गरे ।