“किताबको ज्ञान सिकियो, जीवन सिकिएन गुरु”
स्कूलको कालो पाटी, र किताबको ठूलो भारी,
झोलामा बोकेर हिँड्यौँ,
अङ्ग्रेजी, विज्ञान, सामाजिक, गणित,
स्वास्थ्य, नेपाली, र कृषिको पाठ पढ्यौँ।
गुरुजीले कण्ठ पार्न भन्थे,
“यी सबै पाठले तिमीलाई जिन्दगीमा ठूलो र
असल मान्छे बनाउँछ।”
किताबको पानाले ज्ञान त दियो,
डिग्री हातमा थमायो,
तर जीवनको असली पाठ कता हरायो गुरु ?
नेपाली पढ्यौँ।
कक्षा कोठामा भानु, लेखनाथ, देवकोटाका कविता घोक्यौँ। “हिमाल पहाड तराई, कोही छैन पराई”
भनेर देशको एकता सिक्यौँ।
व्याकरणमा कर्ता, कर्म, क्रिया रट्यौँ।
तर मनको कविता कसरी लेख्ने?
त्यो कुन पाठमा थियो गुरु ?
छिमेकीलाई “नमस्ते” भन्दा लाजले जिब्रो अड्कियो,
त्यो कसरी बोल्ने?
कुनै किताबमा लेखिएको थिएन गुरु ।
नेपालीमा निबन्ध लेख्न सिक्यौँ,
तर जिन्दगीको कथा कसरी लेख्ने?
त्यो कुनै गुरुले सिकाएन।
अङ्ग्रेजीको कक्षा त झन् रमाइलो हुन्थ्यो ।
‘A for Apple, B for Ball’ बाट सुरु भयो।
ठूलो भएपछि शेक्सपियरको “To be or not to be” घोक्यौँ।
‘I love you’ भन्न सिक्यौँ, तर कसलाई भन्ने?
मनको कुरा मनमै अड्कियो गुरु ।
‘Past perfect’, ‘future tense’ सिक्यौँ,
तर मनको तनाव कसरी हटाउने ?
त्यो कुन पाठमा थियो गुरु ?
अङ्ग्रेजीले पत्र लेख्न सिकायो,
तर मनको पत्र कसरी लेख्ने?
त्यो कुनै किताबमा भेटिएन गुरु ।
विज्ञान पढ्दा न्यूटनको स्याउ खस्ने कथा रमाइलो लाग्थ्यो।
गुरुत्वाकर्षण, सूर्यको ताप, चन्द्रमाको चमक,
ताराहरूको रहस्य।
कोशिका, डीएनए, रसायनको रंगीन प्रयोग।
किताबले सबै सिकायो।
तर बजारमा तरकारी किन्दा ठगिनबाट कसरी जोगिने?
त्यो विज्ञानले कहिल्यै सिकाएन गुरु।
बिजुलीको तार जोड्ने सिद्धान्त पढ्यौँ,
तर बिजुलीको बिल देख्दा मन किन कालो हुन्छ?
त्यो कुन प्रयोगशालाले बुझायो गुरु ?
विज्ञानले मंगल ग्रहको कुरा सिकायो,
तर मनको अशान्ति कसरी हटाउने?
त्यो कुनै सूत्रमा अटाएन गुरु ।
सामाजिक पढ्दा इतिहासले लोभ्याउँथ्यो।
बुद्ध, गान्धी, राणाकाल, पृथ्वीनारायण शाह।
विश्वयुद्ध, क्रान्ति सबै कथा पढ्यौँ।
संस्कृति, सभ्यता, समाजको नियम सिक्यौँ।
तर छिमेकीको झगडा कसरी मिलाउने?
त्यो कुन पाठमा थियो गुरु ?
संविधानको धारा पढ्यौँ,
तर गाउँको धारामा पानी रोक्ने लाई के गर्ने ?
त्यो कुन इतिहासले सिकायो गुरु ?
सामाजिक पढ्यौँ, तर समाजमा कसरी बाँच्ने?
त्यो किताबले कहिल्यै भनिदिएन गुरु ।
गणितको कक्षा त झन् रोचक हुन्थ्यो ।
x र y को लफडा, समीकरणको खेल।
त्रिकोणमितिको साइन, कोसाइन, ट्यान।
पाइथागोरसले त्रिकोणको रहस्य खोलिदिए।
क्षेत्रफल, आयतन, ब्याजदर—सबै हिसाब सिक्यौँ।
तर घरको बजेट कसरी मिलाउने?
त्यो गणितले कहिल्यै सिकाएन गुरु ।
बजारमा स्याउको दाम मोलमोलाइ गर्दा,
किन सधैँ घाटा लाग्छ?
त्यो कुन समीकरणले बुझायो गुरु ?
किताबमा हिसाबको कुरा सिक्यौँ,
तर मनको हिसाब कसरी मिलाउने?
त्यो कुनै सूत्रले बुझाएन गुरु ।
स्वास्थ्यको पाठमा “हरियो साग खाऊ,
दिनमा आठ गिलास पानी पिऊ” भनियो।
भिटामिन, प्रोटिन, क्याल्सियमको कुरा।
रोगबाट बच्ने उपाय, व्यायामको महत्त्व।
किताबले सबै भन्यो।
तर चाउचाउको लत कसरी छोड्ने?
त्यो कुन पाठमा थियो गुरु ?
चिया र कफीको तलतलले स्वास्थ्यलाई कसरी ठग्छ?
त्यो कुन सरले ले बुझायो गुरु ?
योग र ध्यानको कुरा थियो,
तर मनको अशान्ति कसरी हटाउने ?
त्यो कुनै स्वास्थ्यको किताबमा लेखिएको थिएन गुरु ।
कृषि पढ्यौँ।
माटोको प्रकार, उर्वताको महत्त्व, बाली लगाउने तरिका।
धान, मकै, गहुँको जीवनचक्र।
कीरा नियन्त्रण, सिँचाइको महत्व।
यी सब किताबले सिकायो—जमिन खनेर बीउ छर्ने तरिका।
तर बारीमा सधैँ किन उही खर उम्रिन्छ?
त्यो कुन पाठले बुझायो गुरु ?
मल र बीउको दाम सुन्दा मन किन आत्तिन्छ?
त्यो कुन कृषि विज्ञानले सिकायो गुरु ?
किताबमा जैविक खेतीको कुरा थियो,
तर बजारमा रसायनले भरिएको तरकारी कसरी छान्ने?
त्यो कुनै किताबमा लेखिएको थिएन गुरु ।
किताबको पाना पल्टाउँदा, ज्ञानको पहाड चढ्यौँ।
डिग्री थाप्यौँ, ताली पायौँ।
तर जीवनको असली यात्रामा किन सधैँ ठेस लाग्छ गुरु ? स्कूलले सिकायो—पास हुनु छ, मेहनत गर्नु छ।
तर जिन्दगीको पाठशालामा किन सधैँ अपुरो ज्ञान गुरु ? किताबले सिकायो—सपना देख, ठूलो मान्छे बन।
तर सपनाको पछाडि दौड्दा, किन मन रित्तो हुन्छ?
त्यो कुनै शिक्षकले बुझाएन गुरु ।
हाँस्न सिक्यौँ, तर मनदेखि हाँस्न कहाँ सिक्यौँ?
किताबमा सिकाइयो—प्रश्नको जवाफ दे।
तर जीवनका प्रश्नहरूको जवाफ कसले दिन्छ गुरु ?
किताबले सिकायो—सधैँ अगाडि बढ।
तर बाटोमा ठेस लाग्दा, कसरी उठ्ने?
त्यो कुन पाठमा थियो गुरु ?
जीवनको स्कूलमा, किताबले धेरै कुरा सिकायो।
तर बाँच्ने कला, हाँस्ने कला, माया गर्ने कला,
क्षमा गर्ने कला,
यी कुनै किताबमा लेखिएका थिएनन् गुरु ।
किताबको ज्ञानले डिग्री दियो,
तर जीवनको ज्ञानले बुद्धि दिन्छ।
किताब पढ, तर जीवन पनि बाँच।
किनकि किताबको ज्ञान सिकियो,
तर जीवन सिकिएन।
यो जिन्दगी एउटा किताब हो,
तर पाना आफैँ लेख्नुपर्छ।
हाँस्दै लेख, रमाउँदै लेख।
किताबको पाठले तिमीलाई पास गराउँछ,
तर जीवनको पाठले तिमीलाई जिउन सिकाउँछ।
हाँस्दै बाँच, मायाले बाँच, किनकि किताबले ज्ञान दिन्छ,
तर जीवनले बुद्धि।
✍️भगीरथ लाबड, बैतडी