पोर्तुगल, २४ भदौ / सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलको अधिवेशनबाट नरेश भाटको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षमा मनोज बहादुर खडायत, उपाध्यक्षमा अनुप बोगटी, विजय भाट र नरेन्द्र बहादुर साउद चयन भएका छन् । महिला उपाध्यक्षमा रक्षा रिमाल गिरी चयन भएकी छन् ।
महासचिवमा नरेश कठायत, सचिवमा दिपेन्द्र ठगुन्ना र देवेन्द्र बम तथा कोषाध्यक्षमा प्रेम भट्ट चयन भएका छन्। सह–कोषाध्यक्षमा पुष्प चलाउने चयन भएका छन्।
युवा तथा खेलकुद संयोजकमा विकास खड्का (राथोड), कला तथा संस्कृति विभाग संयोजकमा अर्जुन सुनाम र महिला संयोजकमा आरती ऐर चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा मनोज जोशी, इन्द्र खाती, कमल खड्का, दिपेश कुँवर, धन बहादुर बोहरा, जे.बी. चन्द, दिनेश विश्वकर्मा, महेशराज पन्त, भक्त/योगसिंह र प्रकाश साउद चयन भएका छन्।
समाजका अध्यक्ष दिपेश बिष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका सचिव डम्मर बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन समाजका महासचिव सुरज बिष्टले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले भौगोलिक रूपमा सुदूरपश्चिमबाट हजारौँ किलोमिटर टाढा रहे पनि सुदूरपश्चिमेलीहरूको मन, माटो, भाषा, संस्कृति, परम्परा र पहिचान भने आफ्नै जन्मभूमिसँग जोडिएको बताए।
उनले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबै सुदूरपश्चिमेलीको साझा जिम्मेवारी भएको बताए।
निर्वाचन समितिका संयोजक पुष्पराज गिरी तथा बुलन्द प्रकाश गिरीले समाजलाई अझ व्यवस्थित, प्रभावकारी र बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए। नौवटै जिल्लाका सुदूरपश्चिमेली आबद्ध रहेको समाजलाई सबैको साझा संस्था बनाउँदै आपसी एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउनुपर्ने उनीहरूको भनाइ थियो।