बाजुरा, २२ भदौ / बाजुराका १६ जना अझै सम्पर्कविहीन भएका छन् । रसुवाको टिमुरेमा बस्दै आएका उनीहरू भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तसँग सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेमा हिमाली गाउँपालिका–६ का ५३ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीया आराम नेपाली, ३३ वर्षीया उजना दमाई, ३२ वर्षीय मोहनलाल रोकाया, ३२ वर्षीय विक्रम भण्डारी, ४५ वर्षीय दिपे सार्की, ५५ वर्षीय विसि पाण्डे र हिमाली गाउँपालिका–४ का १८ वर्षीय चन्द्र सार्की रहनुभएको छ ।
त्यसैगरी, स्वामीकार्तिक खापर गाउँपालिका–४ का ४० वर्षीया मनऋषी सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगनाथ गाउँपालिका–६ का २९ वर्षीय मुकेश दमाई गरी बाजुराका १६ जना अझै आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सम्पर्कमा नआएका हिमाली गाउँपालिका–६ का विक्रम भण्डारीको जिल्ला अस्पताल बाजुरा र दिपे सार्कीको काठमाडौँमा डीएनए परीक्षण गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताउनुभयो ।
प्रहरी प्रशासन र आफन्तले खोजी कार्य जारी राखे पनि उनीहरू अझै सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए ।