डोटी (बडीकेदार) २३ भाद्र/ डोटीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित सुन्तलाजात फलफूल जोनका अनुदान कार्यक्रम तथा आगामी योजनाबारे बृहत् छलफल गरिएको छ। सुन्तलाजात फलफूल जोन, डोटीको आयोजनामा बडीकेदार गाउँपालिका–४ टिमुट्टा र वडा नम्बर २ मा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा हालसम्म सञ्चालन गरिएका अनुदान कार्यक्रमको प्रभावकारिता, कृषकले प्राप्त गरेको लाभ तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइ खुमलटार, ललितपुरका वरिष्ठ इन्जिनियर जितबहादुर चन्द, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम डडेल्धुराका प्रमुख पीताम्बर बस्नेत, कैलालीका कृषि अधिकृत भीष्म रेग्मीलगायतको सहभागिता रहेको थियो। त्यस्तै, बडीकेदार गाउँपालिका–४ का वडाध्यक्ष कर्णबहादुर जेठारा, वडा नम्बर २ का वडाध्यक्ष दलबहादुर घर्ती मगर, सुन्तलाजात फलफूल जोन सञ्चालन समन्वय समितिका संयोजक लक्ष्मण ताडी तथा कृषि प्राविधिकहरूको सहभागिता थियो।
कृषक समूहका सदस्यसहित करिब ४५ जना कृषि उद्यमी सहभागी कार्यक्रममा सञ्चालनमा रहेका अनुदान कार्यक्रमबाट कृषकहरू लाभान्वित भएको बताइएको थियो। आगामी दिनमा पनि कृषकको आवश्यकता र स्थानीय सम्भावनालाई ध्यानमा राख्दै समयसापेक्ष, प्रभावकारी तथा प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
छलफलका क्रममा डोटीमा सुन्तलाजात फलफूल उत्पादनमा देखिँदै गएको ह्रासको समस्या प्रमुख रूपमा उठाइएको थियो। कृषकहरूले सुन्तलाजात फलफूलमा देखिएको उत्पादन घट्ने समस्या पहिचान गरी त्यसको वैज्ञानिक व्यवस्थापन र समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।
कृषकहरूले कृषि क्षेत्रको समग्र विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। अनुदान तथा अन्य कृषि कार्यक्रम वास्तविक कृषकसम्म पुग्ने र त्यसबाट प्रत्यक्ष प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव थियो। कार्यक्रमको आयोजना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डडेल्धुरा तथा सुन्तलाजात फलफूल जोन, जोन प्राविधिक एकाइ बुडर, डोटीले गरेको हो।