धनगढी,२६ भदौ / धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै असोज १ गतेदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ । हाल शनिबार र आइतबार बन्द हुँदै आएको विस्तारित सेवा अब आइतबार तथा अन्य सार्वजनिक बिदाका दिनसमेत सञ्चालनमा आउने भएको हो ।
अस्पतालले जारी गरेको सूचना अनुसार असोज १ गतेदेखि आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि विस्तारित सेवा सञ्चालन हुनेछ । यस्तै, सोमबारदेखि शुक्रबारसम्म नियमित समयपछि बेलुकी ५ बजेदेखि पनि विस्तारित सेवा दिइनेछ। शनिबार भने सेवा बन्द रहने अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा . हेमराज पाण्डेयका अनुसार पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक बढेपछि सेवा विस्तार गर्ने निर्णय गरिएको हो। बिरामीको चापका कारण उपचार नपाई फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा सञ्चालन गर्न लागिएको उनले बताए।