बाजुरा २२ भाद्र/पहिरोले ३२ वटा पोल ढलेपछि बाजुरामा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ पोल ढलेपछि विद्युत आपूर्ति बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठुलो पहिरो खस्दा ७ पोल र वीरेखोला क्षेत्रमा २५ वटा पोल ढलेका छन् ।
गए राति करिब ९ बजे जिल्लाभर विद्युत सेवा बन्द भएकोमा भोलिसम्म पनि सुचारु हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । अवरुद्ध विद्युत सेवा सुचारु गर्न आज दिनभर प्राविधिकको टोली खटिएको भएपनि वर्षा सुरु भएपछि फर्किएको जोशीले बताउनु भएको छ ।
अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालनमा रहेको छ । जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे–मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोल तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको छ ।
विद्युत सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने विद्युतबाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
अविरल वर्षाका कारण बाजुरामा साँफे-मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ भने पहिरो पन्छ्याउन सुरु गरेपनि पुनः भारी वर्षा हुन थालेपछि समस्या हुँदा ढिलाई भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।