✍️ राजन भट्ट , गद्य कविता
कसैलाई यो देशमा राजा चाहिएको छ।
कसैलाई गणतन्त्रमै सबैको मुक्ति देखिन्छ।
शिक्षकहरू सडकमा छन् — चर्को घाम र चिसो पवनसँग संघर्ष गर्दै।
युवाहरू भने हातमा पासपोर्ट र मनभित्र हजारौं सपनाका छायाछविहरू बोकेर,
देशको निलो आकाश छोड्दै छन् — भोलिको नाममा।
तर मलाई…
मलाई न राजा चाहिएको छ, न गणतन्त्रको खोक्रो गुँरास।
मलाई त चाहिएको छ —
देशभित्रको शान्ति, नागरिकभित्रको भरोसा।
त्यही गणतन्त्र ल्याउने यात्रा —
जहाँ कति छाती चिरे, कति सपना चकनाचुर भए।
कति आमाले छोराको लाश ओढ्नुपर्यो,
कति बाबुले छोरीको निधारमा टिका लगाउने सपना अधुरै रह्यो।
आज त्यही गणतन्त्र —
जनताको लागि होइन, कुर्सीका लागि प्रयोग हुँदैछ।
राजनीति सेवा होइन, सुविधा बनिएको छ।
प्रतिनिधि भन्नु कुर्सीको रक्षक, जनता होइन,
दलको आदेशमा चल्ने अनुशासित यन्त्रजस्तो देखिन थालेका छन्।
यसैबीच, हाम्रो देशका युवा —
जसले परिवर्तनको नारा बोकेका थिए,
आज उनीहरू पासपोर्टको निलो पानामा आफ्नो भविष्य खोजिरहेछन्।
र त्यही नीलो पानामा कहिलेकाहीँ उनीहरूको अन्तिम यात्रा पनि बन्दछ।
कतिका लासहरू बाकसमा फर्किन्छन्,
तर त्यो खबर कहिल्यै मुख्य समाचार बन्दैन।
विदेश गएको छोरो फर्किँदैन,
शिक्षकको पीडा सुनिँदैन,
श्रमिकको पसिना गनिन्छ, तर मूल्य दिइँदैन।
देशभित्र शिक्षाको उज्यालो बाँड्ने गुरुहरू
अहिले शिक्षा होइन, न्याय खोज्दै सडकमा छन्।
हाम्रो समाजका मेरुदण्ड —
उनीहरूलाई तलबभन्दा पहिला सम्मान आवश्यक थियो।
श्रमिक —
देशको पूरै संरचना जसको काँधमा ठाडिएको छ।
तर उसको पसिनाको मूल्य बजारमा सस्तो छ,
उसको परिश्रमको गणना शून्यमा छ।
हाम्रो प्रहरी —
अपराधको विरुद्ध लड्ने,
रातको अन्धकारमा उज्यालो बनाउने,
तर कहिलेकाहीँ उनीहरूको त्याग गुमनाम हुन्छ।
समाजसेवीहरू —
जो अरूको पीडामा आँसु बनेर झर्छन्,
तर तिनीहरूको नामभन्दा पहिले प्रश्नचिह्न राखिन्छ।
त्यसोभए —
अब देश कसरी बाँच्ला?
मेरो देश…
जहाँ चेतनाको बिजारोपण हुन आवश्यक छ।
जहाँ शिक्षामा समर्पण होस्,
राजनीतिमा उत्तरदायित्व होस्,
र समाजमा स्वाभिमान फिर्ता आओस्।
देश न बिग्रेको हो,
देशलाई बिगारिने मौका दिइएको हो।
र त अहिलेको अवस्था हेर्दा लाग्छ —
“मेरो देश डुब्न लागे, कोही माझी बजाइदेऊ…”
भनेर चिच्याउने बेला फेरि आइपुगेको छ।
म त स्वप्न देख्छु —
एउटा यस्तो नेपाल,
जहाँ शिक्षकले फेरि कक्षा रोजून्,
युवाले विदेश होइन, देशभित्र भविष्य देखून्,
श्रमिकले पसिनाको मूल्य पाओस्,
र नागरिक भएर बाँच्न सक्ने आधार बनोस्।
शान्ति —
शब्द होइन, अवस्था हो।
शान्ति भनेको अनुहारमा मुस्कान देखिने जीवन हो।
शान्ति भनेको न्यायको भरोसा हो —
जहाँ नागरिकले सोध्न सक्छ, अनि उत्तर पाइन्छ।
आज पनि देशका धेरै कुनामा
साँचो मायाले बाँचिरहेका मानिसहरू छन्।
हामीलाई मात्र हेराइ बदल्ने आँखा चाहिएको हो,
सुन्ने कान, र महसुस गर्ने हृदय।
देश बाँच्नेछ —
यदि हामीले उसको स्वर सुन्न सकेँ।
देश उठ्नेछ —
यदि हामीले उसको पीडामा मलहम लगाउन सक्यौं।
देश फेरि हाँस्नेछ —
यदि हामीले स्वार्थ होइन,
उत्तरदायित्व बोकेर राजनीतिलाई चिनौं …..।