धनगढी । सुदूरपश्चिममै पहिलोपटक ‘नेशनल बाथरोग सेन्टर’ शाखा खुलेसँगै बाथरोगका बिरामीले अब उपचारका लागि भारत र काठमाडौँ धाउनु पर्ने बाध्यता अन्त्य भएको छ। शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिद्वारा सञ्चालित सेन्टरको उद्घाटन आज धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले गरेका थिए।
उद्घाटन क्रममा वडाध्यक्ष मुडभरीले बाथरोगका बिरामीले अब स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउने भएपछि ठूलो सहजता आउने बताए।
“अब बाथरोगका बिरामीले धेरै पैसा खर्च गरेर बाहिर जानुपर्ने अवस्थाबाट मुक्ति पाउनेछन्,” उनले भने, “गरिब तथा विपन्नका लागि निःशुल्क वा सहुलियतमा सेवा दिन पनि सेन्टरलाई अनुरोध गर्दछु।”
कार्यक्रममा नेशनल बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा। विनित बैधले बाथरोगलाई सामान्य हात–खुट्टा दुखाइ मात्र समझिने गलत धारणालाई सच्याउनुपर्ने बताए। उनले विभिन्न प्रकारका बाथरोग, उमेर समूह, रोगका कारण र जोखिम अनुसार छुट्टाछुट्टै उपचार दिइने बताए।
“एउटा विशेषज्ञ मात्र होइन, टिम नै आएर सम्भव हुने सबै सेवा यहाँ उपलब्ध गराइनेछ,” डा। बैधले भने।
नेशनल बाथरोग सेन्टर प्रबन्ध निर्देशक रोशन कक्षपतीले धनगढीमा शाखा स्थापना गर्नुको मुख्य उद्देश्य नै सुदूरपश्चिमका बिरामीलाई स्थानीयमै विश्वस्तरिय सेवा उपलब्ध गराउनु रहेको बताए। उनि भन्छन,“सुदूरपश्चिमका बिरामीलाई भारत र काठमाडौँ धाएर उपचार गर्नुपर्ने बाध्यता हटाउन हामीले यो शाखा ल्याएका हौं ।अब विश्व स्तरकै बाथरोग उपचार सेवा बिरामिलाई धनगढीमै उपलब्ध हुन्छ।” उनका अनुसार नेपालभर ८ जिल्लामा शाखा सञ्चालनमा रहेकामा धनगढी नवौं शाखा हो।
प्रबन्ध निर्देशक कक्षपतीले स्थानीय तहको सिफारिसमा आर्थिक रूपमा कमजोर बिरामीले सहुलियतमा उपचार पाउने बताए।
उनका अनुसार शाखामा बाथरोगसम्बन्धी सबै परीक्षणहरू—जाँचदेखि उपचारसम्म—अब धनगढीमै उपलब्ध हुनेछन्।
