धनगढी, ३ मंसिर / सुदूरपश्चिम प्रदेशमा अपाङ्गता सम्बन्धी विद्यमान नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे आज धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल, धनगढी उपमहानगरपालिका–१, शिवनगरमा सम्पन्न उक्त कार्यक्रममा सरकारका उच्च अधिकारी, स्थानीय तहका प्रतिनिधि तथा अपाङ्गता सम्बद्ध विज्ञहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका निमित्त प्रमुख सचिव, समाजिक विकास, उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव, धनगढी उपमहानगरपालिकाका उपप्रमुख, सञ्चारकर्मी, तथा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सहभागी थिए।
कार्यक्रम राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा तथा डिआरएफको सहकार्यमा आयोजना गरिएको हो।
अन्तरक्रियामा प्रदेशमा रहेका अपाङ्गता सम्बन्धी नीति, कार्यक्रम र सेवाहरूको वर्तमान अवस्था, व्यवहारिक चुनौती तथा सुधारका सम्भावनाबारे छलफल केन्द्रित भएको आयोजकले जानकारी दिएको छ। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि नीति कार्यान्वयनलाई अझै प्रभावकारी बनाउन सरकार, स्थानीय तह र सरोकारवालाबीच समन्वय बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले आगामी दिनमा अपाङ्गता क्षेत्रका आवश्यकता, माग र सम्भाव्य सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने जनाइएको छ।
