धनगढी, २५ कार्तिक / भारताल साझेदारी वन उपभोक्ता समूहको क्षेत्रमा काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । साथै, तस्करीका लागि प्रयोग गरिएका चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएका छन् ।
साझेदारी वन र सव-डिभिजन वन कार्यालय फूलवारीको संयुक्त गस्ती टोलीले गए राति तस्करीमा संलग्नहरुलाई पछ्याउने क्रममा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने धनगढी–१५ का करण राना रहेको सव-डिभिजन वन कार्यालय फूलवारीका प्रमुख कपिल रावलले जानकारी दिए ।
रावलका अनुसार पक्राउ परेका रानामाथि वन ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइनेछ । अन्य संलग्न व्यक्ति भने मोटरसाइकल छोडेर फरार भएका छन् । फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादव भण्डारीले बताए ।
गस्ती टोलीले काठ तस्करीमा प्रयोग गरिएका से ३ प २०६८, म १ प ८५७८, सुप्रप्र ०१–०१३ प ०४०६ र से १ प ७५५९ नम्बरका मोटरसाइकलहरू बरामद गरेको छ । साथै, काठ काट्न प्रयोग गरिएका हतियार र डोरी समेत नियन्त्रणमा लिइएका छन् ।
हालका दिनमा वन क्षेत्रभित्र काठ चोरी र तस्करीका घटना बढेपछि नियमित संयुक्त गस्ती संचालन गरिएको वन कार्यालयले जनाएको छ ।