कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानहरू शीतभण्डार (कोल्डस्टोर) अभावका कारण मर्कामा परेका छन्। जिल्लामा एकमात्र निजी शीतभण्डार बन्द भएपछि आलु, काउली, बन्दागोभी लगायत मौसमी तरकारी भण्डारण गर्न समस्या उत्पन्न भएको हो। विशेषगरी व्यावसायिक तरकारीखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित छन्।
किसान चेतराज चौधरीका अनुसार, शीतभण्डार नहुँदा तरकारी कैलालीतर्फ लैजानुपर्ने बाध्यता आएको छ। “टाढाको शीतभण्डारमा पुर्याउँदा ढुवानी खर्च बढ्छ, भण्डारण शुल्क तिर्नुपर्छ, बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,” उनले बताए। कृषक चामबहादुर डगौरले भने, विगतमा शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो हुन्थ्यो, अहिले नहुँदा महँगो दरमा बाह्य क्षेत्रबाट बीउ खरिद गर्नुपरेको गुनासो गरे।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानको हितमा मिनी शीतभण्डार स्थापना गर्नुपर्ने बताए। “एक गाउँ एक मिनी शीतभण्डार भए किसानले उत्पादन सुरक्षित राखेर उचित मूल्यमा बेच्न सक्नेछन्,” उनले भने।
नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले भण्डारणको अभावले किसानमा समस्या आएको स्वीकार्दै, सहकारी तथा निजी क्षेत्रसँग सहकार्यमा मिनी शीतभण्डार स्थापनाको योजना अघि बढाउन तयार रहेको बताए। उनका अनुसार तरकारी उत्पादन बढ्दै गए पनि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा चुनौती बढिरहेको छ र समयमै पूर्वाधार नबन्ने हो भने किसान निरुत्साहित हुने खतरा रहेको छ।
नगरपालिकाले हरेक वर्ष नगरसभाबाट शीतभण्डार निर्माणका लागि बजेट विनियोजन गर्दै आएको भए पनि स्थान छनोट नहुँदा कार्य अघि बढ्न सकेको छैन, जसले प्रत्येक वर्षको बजेट थन्किने समस्या ल्याएको छ।