धनगढी, ११ असोज/कैलालीको खानीडाँडामा सडक सुरक्षामा खटिएका प्रहरी नै असुली धन्दा चलाउन थालेका छन् । धनगढी तथा महेन्द्रनगरबाट पहाडका लागि गुडेका सवारी साधनबाट खानीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा खटिएका ट्राफिक प्रहरीले नै पैसा असुल्न थालेका छन् । फूलबारी खबर अनलाइनले ट्राफिक प्रहरीले पैसा लिइरहेको खबर सार्बजनिक गरेको छ ।
ट्राफिक बिटमै बसेका प्रहरीले सवारी साधन इन्ट्रीका नाममा पैसा लिने गरेको स्र्रोतले बतायो । दशै तथा तिहारका लागि पहाड जाने यात्रुका झोला, पोका पुन्तुराले गाडीका हुड भरिएको देख्ने वित्तिकै ट्राफिक प्रहरीले बिटमै बोलाएर पैसा असुलिएरहेका छन् ।
भिडियोमै प्रष्ट देख्न सकिन्छ कि गाडीका सह चालकले गोजीबाट पैसा निकालेर बिटमै राखिदिन्छन् । तर, उनले रसिद लिएका छैनन् । ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्र्रहरी निरीक्षक चक्रबहादुर देउवाले गलत गर्ने ट्राफिक प्रहरीलाई नियमानुसार कारबाही हुने बताए ।