धनगढी, ८ असोज / नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवालले पार्टीभित्र तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरेका छन्। मंगलबार धनगढीको जलसा होटलमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले वर्तमान शैलीमै राजनीति गरे ठूलो पराजय व्यहोर्नुपर्ने चेतावनी दिए।
भर्खरै सम्पन्न जेन जी आन्दोलनमा सहादत प्राप्त गरेका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बडुवालले आन्दोलनले पुराना दलहरूलाई नयाँ शैलीमा राजनीति गर्न सन्देश दिएको बताए। “अब देश र पार्टी दुवै गम्भीर मोडमा पुगेका छन्। पुनर्जागरण र पुनर्निर्माणको आवश्यकता छ,” उनले भने।
उनका अनुसार, विगत २५ महिनादेखि आफूलाई कैलाली जिल्ला कमिटीभित्र अन्यायपूर्ण व्यवहार गरिएको छ। “बैठकको जानकारी नै नदिने, उपस्थित हुन नदिने प्रवृत्ति देखिएको छ। उपसभापतिलाई लेटरप्याड प्रयोग गर्न नपाउने भन्ने कुरा विधानमा छैन,” तर पनि नेपाली कांग्रेस कैलाली जिल्लाका पार्टी सभापति नारायण दत्त भट्टले मनोमानी गरेको गुनासो गरे।
बडुवालले पार्टी सभापतिलाई संवादका लागि पटक–पटक आग्रह गरे पनि अहंकारका कारण सहमति सम्भव नभएको आरोप लगाए।
वर्तमान अवस्थामा पार्टीलाई संकटबाट बचाउन नेपाली कांग्रेसको नियमित महाधिवेशन २०८२ मंसिरभित्र सम्पन्न गर्ने, विशेष महाधिवेशन गर्ने मात्रै दूई उपाय रहेको समेत दाबी गरे।
“व्यक्तिपूजाको नाममा हामी पार्टी खरानी भएको हेर्न चाहन्नौं। बीपी कोइरालाले देखेको सपना साकार पार्न जनताको विश्वास जित्नुपर्छ, पार्टीभित्र आमूल परिवर्तन गर्नु अनिवार्य छ,” बडुवालले भने।
यस्तै उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाल तरुणदलका केन्द्रीय सदस्य लोकराज पाण्डेय ‘आगो’ ले भने समय छँदै पार्टी नेतृत्वले बुद्धि नपुगाए पछि पछुताउनु बाहेक अर्को विकल्प नरहने दाबी गरे। यस्तै वर्तमानको आन्तरिक सरकार पनि ‘जेन जी’को मर्म अनुसार नभएको जिकिर गरे।