कैलाली, ७ असोज / कैलालीको घोडाघोडी नगरपालिका–८ का वडाअध्यक्ष वीरबहादुर साउँदमाथि एक युवकलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।
स्थानीय २४ वर्षीय सुनिल खड्कालाई उनले प्रश्न गरेकै भरमा निर्घात कुटपिट गरेको आरोप छ । अध्यक्षको कुटाइबाट घाइते भएका खड्काको स्थानीय अस्पतालमा उपचार भैइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
घाइते सुनिल खड्काले आफूले वडा अध्यक्ष साउदलाई प्रश्न गरेकै कारण आफूमाथि प्रहार भएको बताए । ‘वडा अध्यक्षलाई मैले तपाई तिन वर्ष भन्दा बढी भो वडा अध्यक्ष भएको के चाँही राम्रो काम गर्नु भो, अब बाँकी रहेको समयमा के चाँही गर्नु होला भन्ने आशा गर्ने भनेको थिए ।’ उनले भने, ‘तर, उहाँले तँ बढ्ता बोल्छस् भनेर टाउँकोमा ढुङगाले हान्नु भो । त्यस अघि मैले हरेक वर्षायममा पानीले आफू लगायतका स्थानीयको खेतीयोग्य जमिन कटान गर्ने गरेको समस्याका विषयमा पनि कुरा गरेको थिए। प्रश्न गरेकै भरमा एक जिम्मेवार अभिभावकबाट मैले यसरी कुटाइ खानु पर्यो ।’
यता वडा अध्यक्ष साउँदले भने, घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । ‘उनीहरु समुहमा लडाँई गरिरहेका थिए। म छुट्याउन मात्र गएको थिएँ ।’ वडाध्यक्ष साउदले भने, ‘अहिले आरोप म माथि लगाएका छन् । मैले उनलाई माछा समेत पकाएर दिएको थिएँ । उनीहरुले मायाले मलाई हल्का मदिरा खान दिएका थिए ।’
त्यस्तै, घटनाका एक जना प्रत्यक्षदर्शीका अनुसार वडा अध्यक्षको समुह र कुटपिटबाट घाइते भएका खड्का समुहको विवाद हुनुअघि मदिरापाटी चलेको थियो । वडा अध्यक्षका समुहपट्टीबाट एक जना नसाको तालमा खड्काको समुहमा आएर विवाद गर्न थालेपछि घटना भएको उनले बताएका छन् । ‘ती व्यक्तिले सुनिल खड्काको समुहमा आएर तिमीहरु जेनजी होइन भनेर हप्काउन थाले । त्यही बेला घाइते भएका खड्काले झगडा गर्न आएको होर भनेर घाँटी समातेर धकेलेका थिए । सो समयमा वडा अध्यक्षले खड्कालाई ढुङगाले हानेका हुन्। त्यसपछि ग्याँङ फाइट नै भयो ।’ उनले भने ।
प्रत्यक्षदर्शीका अनुसार दुई समूहको झगडापछि केही बेर जंगलमा भागदौड नै मच्चिएको थियो ।
त्यस्तै, घटनामा घाइते २४ वर्षका सुनिल खड्काले आफुलाई वडा अध्यक्षले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा सोमबार नै उजुरी दर्ता गराएका छन् । घाइते खड्काको टाउकोमा आठ वटा टाँका लागेको प्रहरीको भनाई छ । उनीहरु वनभोज खान बडखोली क्षेत्रमा गएर फर्किने क्रममा घटना भएको र घटनाका बारेमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।