धनगढी, ६ असोज / नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न जो–सुकै भए पनि कारबाहीमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
आईतबार प्रेस विज्ञप्ति जारी गर्दै वडले नजिक वा टाढाको भन्ने भेदभाव नगरी दोषीलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन आफू प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना व्यक्त गरेका छन् । साथै घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. आरजु देउवामाथि भएको आक्रमणप्रति घोर भर्त्सना गरेका छन् ।
वडले प्रदर्शनकारीको भावना विपरीत विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, निजी निवास, व्यावसायिक प्रतिष्ठान र मिडिया हाउसमा भएको तोडफोड र आगजनी घटनाप्रति दुःख व्यक्त गर्दै त्यसमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
