धनगढी,२९ भदौ / भदौ २३ र २४ गते ‘जेन जी’ले आयोजना गरेको आन्दोलनमा ज्यान गुमाएका वीर शहीदहरूको सम्झनामा आइतबार साँझ धनगढीमा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल पत्रकार महासंघ कैलाली र कैलाली जिल्ला अदालत बार एसोसिएशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा जेन जी शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समाजमा शान्ति र अमनचयन कायम गर्न एक्यबद्धता जनाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली जिल्ला बार एसोसिएशनका अध्यक्ष नाथुराम चौधरी र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले वीर शहीदहरूको बलिदानलाई स्मरण गर्दै सरकार र नागरिक समाज दुवैलाई जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए। उनीहरूले ‘जेन जी’ आन्दोलनका सपना र मागहरू पूरा गर्नु हामी सबैको साझा कर्तव्य भएको औंल्याए।
गैरसरकारी संस्था महासङ्घ कैलालीका अध्यक्ष चेतमान साउदले पनि शून्यताबाट सबैसँग सहकार्य गर्दै अगाडि वढ्नु पर्ने बताए।
कार्यक्रममा सञ्चारकर्मी, कानुन व्यवसायी,गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।