धनगढी, २७ भदौ / धनगढीमा संविधान रक्षाको लागि कानुनकर्मी र सञ्चारकर्मीले सयुंक्त रुपमा मौन पर्दशन गरेका छन्। वर्तमान परिस्थितिको समाधान यो संविधान भित्रै रहेकाले संविधानमै टेकेर अगाडि वढ्नु पर्ने कैलाली जिल्ला बार एसोसिएसनका अध्यक्ष नाथुराम चौधरीले बताए।
यस्तै पत्रकार पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले संविधान भन्दा माथि कोहि पनि नभएकाले सवैले संविधानको रक्षा गर्न आ-आफ्नो ठाउँबाट जाग्नुपर्ने बताए। देश शुन्यतामा छ यदि संविधान पनि नासिने हो भने झनै ठुलो समस्या आउने उनले दाबी गरे।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) र नागरिक अगुवाहरुले “राष्ट्र बचाउ, संविधान बचाउ” भन्ने प्लेकार्डसहित उनीहरूले मौन विरोध प्रदर्शन गरेका हुन् ।
देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ कैलाली र बार एशोसिएसनको आयोजनामा गरिएको यस प्रदर्शनमा सहभागीहरुले लोकतन्त्र र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।