कैलाली २८ माघ। हिउँदे वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा ठूलो नोक्सानी भएको छ। उत्पादनको मुख्य सिजनमा हिउँदे वर्षा भई इँटा उत्पादन ठप्प हुँदा व्यवसायीलाई ठूलो क्षति भएको हो।
हिउँदे वर्षाले कैलाली र कञ्चनपुरका ८० इँटा उद्योगको मात्र २० करोड बढीको क्षति भएको जनाइएको छ। लगातार हिउँदे वर्षा र खराब मौसमका कारण एक उद्योगमा झण्डै २५ देखि ३० लाख सम्मको क्षति भएको जनाइएको छ। नेपाल इँटा उद्योगका सञ्चालक मायाराम चौधरीले उत्पादनको तयारीमा रहेका तथा काँचो इँटा बर्सातको पानीले नष्ट भएको जानकारी दिए । उनले ४ महिनादेखि उत्पादन नै गर्न नपाएको बताएका छन।
उद्योग बन्द भएकाले मजदुरहरु पनि समस्यामा परेका छन्। “यो बेला भनेको इँटा उत्पादन र पकाउने सिजन हो,” उनले भने, ‘यही बेला भएको वर्षाले हामीलाई ठूलो नोक्सान भएको छ।”खराब मौसमका कारण काम गर्न नपाउँदा साझ र बिहानको खानाका लागि समेत समस्या भइरहेको मजदुरहरु बताउछन्। गत कार्तिकको वर्षामा ठूलो क्षति भएकोमा अहिलेको वर्षाले पनि क्षति गरेको हो। त्यसैमा चार महिनादेखि इँटा उत्पादन गर्न नपाएको सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोद शाहीले बताए। प्रदेशको कैलाली र कञ्चनपुरमा गरी दुई जिल्लामा इँटा उत्पादन उद्योग सञ्चालन हुँदै आएको छ।
सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष शाहीका अनुसार कैलालीमा ४२ र कञ्चनपुरमा ३८ गरि जम्मा ८० इँटा उद्योग छन्। एउटै इँटा उद्योगमा २५ देखि ३० लाखसम्मको क्षति भएकोमा कैलाली र कंचनपुरका उद्योगमा मात्र कम्तीमा २० करोडको क्षति भएको उनले बताए ।सिजनको समयमा लगातार हिउँदे वर्षा र खराब मौसमका कारण उत्पादन नै गर्न नसकिएको व्यवसायीहरुको भनाई छ । जसका कारण व्यवसायी पलायन हुने अवस्थामा रहेका छन्। इँटा उद्योगको बीमा नहुँदा व्यवसायी थप मारमा परेको बताइएको छ । बीमा नभएकाले धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र वर्षौँदेखि सरकारसँग विमा गराईदिन माग गर्दै आएपनि बेवास्ता गरिदै आएको ब्यवसायीहरुले गुनासो गरेका छन् ।