धनगढी, २९ असार/उपप्रमुखको अध्यक्षतामा गठित योजना तर्जुमा समितिको अधिकारको बेवास्ता गरी नगर प्रमुखले मनोमानी तरिकाले नगर सभा सम्पन्न गर्न खोजेको भन्दै कैलालीको भजनी नगरपालिकामा सोमबार तालाबन्दी गरिएको छ ।
संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थाअनुसार नगर सभा सञ्चालन हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको वडा–३ का अध्यक्ष विक्रम चौधरीले बताए । ‘माग पूरा नहुँदासम्म तालाबन्दी रहन्छ । मेयरले ताला खोल्न पहल गरेका छैनन् । कति लामो समय जान्छ भन्न सकिन्न,’ उनले भने ।
असार १० मा सुरु भएको नगरसभा नगर प्रमुख शेरबहादुर चौधरीले मनोमानी ढंगले स्थगन गरी असार २७ मा कार्यपालिकाको बैठक बोलाएकोमा आफूहरूले बहिस्कार गरेको वडाध्यक्ष चौधरीले बताए । सोमबार १० बजे नगरसभा सक्ने गरी बैठक डाकिएकोमा त्यसअगावै तालाबन्दी गरिएको उनको भनाइ छ ।
योजना तर्जुमा समितिको बैठकबाट योजना कार्यपालिका बैठकमा र त्यसपछि नगर सभामा लग्नुपर्नेमा नगर प्रमुखले आफैं बजेट ल्याई मनोमानी गरेको आरोप उनीहरूको छ । तालाबन्दी गरी विरोधमा उपप्रमुख छाया देवकोटा, भजनी–१ का अध्यक्ष रविन थापा, ३ का अध्यक्ष विक्रम चौधरी, ५ का अध्यक्ष केशव बुढालगायत छन् ।