धनगढी : कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषधसहित पक्राउ परेका नरेश जोशीलाई नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले कारबाहीका लागि सिफारिस गरेको छ।
महासंघका महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित विज्ञप्तीमा केही समयदेखि पत्रकारितामा निस्कृय रहेका जोशीले पत्रकारिताको आडमा सीमा क्षेत्रमा पुगेर लागु औषध कारोबारमा संलग्न भएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो।
उनलाई नेपाल पत्रकार महासंघको विधान २०६० ९पाचौँ संशोधन २०७५० को परिच्छेद ८ को दफा ३२ को ९४० बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ। साथै घटनामा जोशीको संलग्नताबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघ कञ्चनपुरले मोहन विष्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेर अनुसन्धान गरिरहेको जनाइएको छ।
जोशी कञ्चनपुरको बेलौरी नगरपालिका(१० भुडाबाट शनिबार ७ सय ग्राम खैरो हिरोईनसहित पक्राउ परेका थिए। अहिले उनी प्रहरीको हिरासतमा रहेका छन्। उनी प्रेस लेखेको ज्याकेट, प्रेस पास र सञ्चार माध्यमको परिचय पत्रसहित पक्राउ परेका थिए।