धनगढी,२९ वैशाख । कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरे सगै प्रशासनले थप कडाई गरेको छ ।कोरोना भाइरसको शृङ्खला तोड्नका लागि कैलाली प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खासै प्रभावकारी नभएको गुनासो बढीरहेका बेला निषेधाज्ञामा थप कडाई गरेको हो । केहि दिन अघि सम्म निषेधाज्ञामा केहि सहज गरेपनि अब भने थप कढाई गरिने जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।
कैलालीमा अब हप्ताको ३ दिन मात्रै खाद्य, तरकारी तथा फलफूलका पसल खोल्न पाइने भएको छ ।यसअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसल अब ३ दिन मात्रै खोल्न पाइने भएको हो । स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलरव्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।