धनगढी: दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् । कोभिड–१९ को महामारीको समयमा अन्य बिरामीहरुलाई अन्यत्र जान समस्या भएकाले कोभिड बाहेकका बिरामीहरुको प्रयोगका लागि गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने उनले जानकारी दिएका छन् ।
कोरोना बाहेकका बिरामीहरुलाई अहिले एम्बुलेन्सको समस्या हुँदा आफूले चढ्ने गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने घोषणा गरेको उनले बताए ।
अब जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने सकिनेछ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापनको केन्द्रको शुक्रबारको बैठकमा प्रमुख जिल्ला अधिकारी जोशीले यस्तो घोषणा गरेका हुन् ।