बझाङ : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन्। केही स्थानीय तहले आइसोलेसन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएका छन्।
केहीले एक÷दुई दिनभित्र निर्माण पूरा गर्न लागेका छन्। १२ वटा स्थानीय तह रहेको बझाङका पाँचवटा पालिकाले भने अहिलेसम्म आइसोलेसन बनाउने सुरसार गरेका छैनन्।
हालसम्म वित्थड चिर, खप्तडछान्ना, दुर्गाथली, तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाले आइसोलेसन बनाएर सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। थलारा र केदारस्यूँ गाउँपालिकाले आइसोलेसन निर्माण गर्दैछन्। केही दिनभित्र सम्पन्न गर्ने जानकारी आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए। हाल सञ्चालनमा रहेका धेरैजसो आइसोलेसनमा अक्सिजन र आवश्यक औषधिसहित चौबीसै घण्टा स्वास्थ्यकर्मी खटिने व्यवस्था गरिएको जोशीले बताए।
जयपृथ्वी नगरपालिका, साइपाल, सुर्मा, छबिसपाथीभेरा र मस्टा गाउँपालिकाले भने हालसम्म महामारीलाई बेवास्ता गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए ।