पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो। अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ।
नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ। कोरोना सङ्क्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन्।
आइसीयुमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन्।–रासस