धनगढी २१ वैशाख। सुदूरपश्चिम प्रदेश सरकार कोरोना नियन्त्रणमा गैर जिम्मेवार देखिएको छ।
कोरोना रोकथाम र उपचारका लागि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बोलाएको बैठकमा अनुपस्थित भएर सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो गैर जिम्मेवारीपन देखाएको हो।
गेटा मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउने विषयमा आयोजित छलफलमा सहभागी हुन संघीय मन्त्री भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्वकीय सचिव शिवसिंह ओली मार्फत आग्रह गरेका थिए।
तर मुख्यमन्त्री हिजो बैठकमा सहभागी भएनन। मुख्यमन्त्री भट्टले बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई समेत पठाएनन्।
ज्वरो आएको भन्दै बैठकमा सहभागी नभएका मुख्यमन्त्री भट्ट सोमबार दिनभरी मुख्यमन्त्री कार्यालयमै रहेको समाचार स्रोतले बतायो।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बैठकमा सहभागी हुन फोन गरेको र सो को जानकारी मुख्यमन्त्री भट्टलाई गराएको दावी स्रोतको छ।
सुदूरपश्चिमका फोकल पर्सन तोकिएका संघीय सरकारका मन्त्री भट्टलाई भेट्न नखोज्नुले मुख्यमन्त्री कोरोना रोकथाम र उपचारका लागि जिम्मेवार नदेखिएको भन्दै आलोचना हुन थालेको छ।