धनगढी: अछामको कमलबजार नगरपालिका–६ को एक विद्यालयका एक शिक्षकलाई ३ दिनअघि कोरोना संक्रमण देखियो । पढाउन जाने र कोठामा फर्किने बाहेक उनको ट्राभल हिस्ट्री केही थिएन ।
सुरुमा ३ दिनसम्म रुघाखोकी लाग्ने, हल्का ज्वरो आउने र टाउको दुख्ने समस्या भइरहेको थियो । तर, यसअघि भारतबाट आएका र उनीहरूका परिवारलाई मात्र संक्रमण भएकाले आफूलाई संक्रमण भएको उनलाई शंका नै भएन ।
अवस्था गाह्रो हुन थालेपछि भने उनले कमलबजार नगरपालिकाको पीसीआर प्रयोगशालामा कोरोना परिक्षण गरे । उनलाई पोजेटिभ देखियो । त्यसपछि समुदायमा कोरोना संक्रमणको दर बढेको उनले अनुमान गरे । ‘भारतबाट आएका र उनीहरूको परिवारमा मात्रै होइन, समुदायका सबैजसोलाई संक्रमण भइसकेको छ ।
जसको मारमा म पनि परेँ,’ उनले भने, ‘गाउँका धेरै स्थानीयहरू कोरोना परीक्षणको सहज पहुँचमा छैनन् । यसले गर्दा भित्रभित्रै आगो जस्तै सल्किएको कुरा बाहिर नआएको पनि हुनसक्छ ।’ आफूलाई पोजेटिभ आएपछिसँगै बस्ने भतिजालाई पनि संक्रमण देखिएको उनको भनाइ छ ।
‘म संक्रमित भएपछि घरमै बसिरहेको छु । कुनै पनि सरकारी निकायबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भएको छैन’ उनले भने, ‘मलाई पोजेटिभ देखिएको अघिल्लो दिनसम्म म पनि समुदायमा घुलमिल थिएँ । तर मसँग प्रत्यक्ष सम्पर्कमा आएका अरुको अवस्थाबारे पनि कसैले सोधिखोजी गरेका छैनन् ।’
समुदायमा फैलिएको कोरोना संक्रमणको मारमा कमलबजारस्थित बैंकका कर्मचारी समेत परेका छन् । कमलबजारमा रहेको प्रभु बैंकका ५ कर्मचारीलाई संक्रमण देखिएपछि बैंक बन्द गरिएको एक कर्मचारीले बताए । ‘भारतबाट अछाम आउनेहरू बैंकमा पैसा जम्मा गर्ने , यता आएर झिक्ने अनि मात्रै घर जाने गर्थे’ बैंकका कोरोना संक्रमित ती कर्मचारीले भने, ‘ हामी ५ जनामध्ये २ जनालाई कडा संक्रमण छ ।
बैंकमा हाम्रो सम्पर्कमा आएका कति जनालाई संक्रमण भयो । अहिलेसम्म त्यसको जानकारी नै छैन ।’ अहिले भारतबाट आएकाहरूलाई सिधै घरमा पठाउने गरेकाले पुरै समुदाय संक्रमित भएको उनको भनाइ छ । ‘कोरोनाको लक्षण देखिएकाहरूले परीक्षण नै गराएका छैनन् । यसले गर्दा अवस्था झन् जटिल हुनसक्छ । सरोकारवालाले परीक्षणको दायरा बढाएर अवस्था पत्ता लगाउन जरुरी छ ।
नगरद्वारा वडामा परीक्षण सुरु
समुदायमै कोरोना संक्रमण फैलिएको आशंकामा मंगलसेन नगरपालिकाले शनिबारबाट वडामै गएर कोरोना परीक्षण गर्न सुरु गर्यो । नगरपालिकाको १४ नम्बर वडामा नमुनाको रुपमा १९ जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनालाई पोजेटिभ देखियो ।
त्यस्तै वडा ४ मा १३ जनालाई परीक्षण गर्दा ६ संक्रमित देखिएको स्वास्थ्य चौकी इज्चार्ज रत्ना सोडारी रावलले बताइन् । ‘सबै वडामा कोरोना परीक्षण गरिरहेका छौं । सोचेभन्दा धेरैलाई संक्रमण देखिएको छ’ उनले भनिन्, ‘कडा खालको लक्षण पनि देखिएको छ तर स्वाब दिनै मान्दैनन् । घरमा उठ्नै नसक्ने गरी मान्छे सुतेको भेटियो । परीक्षण गर्दा कोरोना पोजेटिभ छ ।’
सुरुमै बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखेको भए समुदायमै कोरोना फैलिन बाट जोगिन सक्ने उनको भनाइ छ । ‘सुरुमा सबैबाट वेवास्ता भएकै हो । अब प्रत्येक टोलमा गएर स्वाब संकलन गर्नुपर्छ । प्रत्येक घरबाट २ जनाको परीक्षण गरेमा भने सबै टोल र घरपरिवारको अवस्था थाहा पाउन सकिन्छ ।
नत्र अवस्था निकै जटिल भइसकेको छ’ स्वास्थ्य चौकी इन्चार्ज सोडारीले भनिन । नगरपालिकाले १४ वटै वडामा परीक्षण गर्दा औसत अवस्था बाहिर आउने उनको अनुमान छ ।
‘आइसोलेसन बनाउने र अन्य व्यवस्थापन गर्ने कुरा एकातिर छदैछ । अर्कोतिर समुदायलाई महामारीबाट जोगाउन परिक्षणको दायरा बढाउनु नै अहिलेको लागि उत्तम विकल्प हो’ उनले भनिन् ।कान्तिपुरबाट