धनगढी, १७ वैशाख। कोरोना भाईरसको दोस्रो लहर सुरुभए सँगै पुनः भारतबाट घर फर्किने सुदूरपश्चिमेलिहरुको लर्को लाग्न थालेको छ। कञ्चनपुरसँग सिमा जोडिएका प्रदेशका दुइ ठुला नाका त्रिनगर–गौरीफन्टा र गड्डाचौकी बाट एक हप्ताको अवधीमा हजारौं प्रदेशवासी घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वैशाख ९ गतेदेखि १६ गतेसम्म मात्रै साढे ९ हजार भन्दा बढी प्रदेशवासी घर फर्किएका छन्। जिल्लाको गड्डाचौकी नाका भएर मात्रै उक्त अवधीमा ३ हजार ७ सय १० भन्दा बढीले नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
सोही जिल्लाकै अर्को नाका त्रिनगर–गौरीफन्टा भएर पनि उक्त अवधीमा ६ हजार २ सय १६ जनाले नेपाल प्रवेश गरेको तथ्यङ्क छ। ‘अहिले पनि नेपाल प्रवेश गर्नेको लर्को उस्तै छ,’ प्रहरी नायव उपरीक्षक थापाले भने।
प्रदेशका दुई नाका भएर दैनिक हजार भन्दा बढी प्रदेशवासी घर फर्किने गरको भएपनि उनीहरुको उचित व्यवस्थापन भने हुन सकेको छैन। भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किएकाहरुलाइ क्वारेन्टिनमा राख्न समेत वेवास्ता भइरहेको डोटी राजपुरका स्थानीय नरेन्द्र जोशीले बताए। ‘भारतबाट फर्किएकाहरुको व्यवस्थापन न त स्थानीय सरकारले गरेको छ न त प्रदेश सरकारले,’ उनले भने, ‘यस्तै वेवास्ता हुने हो भने सुदूर पहाडमा समेत कोरोना संक्रमितको अवस्था अझै डरलाग्दो हुने देखिएको छ।’
सुदूरपश्चिम प्रदेश सरकारले भने अहिले भारतबाट आएकाहरुलाइ होम क्वारेन्टिनमा राख्ने अवधारण ल्यएको जनाएको छ। भरतको दिल्ली, महाराष्ट्र लगायत कोरोनाको बढी प्रभावित क्षेत्रबाट आएकाहरुको मात्रै परीक्षण भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए। ‘स्वास्थ्य उपचार सम्बन्धिको समस्या हामीले व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘बाँकी अन्य व्यवस्थापन भने स्थानीय प्रशासन र स्थानीय तहको हो।’