धनगढी: कैलाली र कञ्चनपुरका कोरोना अस्पताल संक्रमितले भरिएका छन् । मृत्युदर पनि यी दुई जिल्लामा बढेको छ । कोरोना संक्रमित दर भयावह भए पनि नागरिक भने अझै सचेत भएको पाइँदैन । सरकारले समेत संक्रमितलाई सुरक्षित राख्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन लिनुपर्ने अवस्थामा मात्र अस्पताल आउने आह्वान गरिसकेको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘जसले अस्पताल नआई नहुने छ भने मात्रै आउने । जसलाई अक्सिजनको आवश्यकता छैन, ज्वरो मात्रै आएको छ, भने घरमै बसेर औषधि सेवन गर्ने ।’
कैलालीको गौरीफण्टा नाकामा परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिए पनि व्यवस्थापन गर्न सकेको अवस्था छैन । कोरोना पोजेटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका–१५मा रहेको कनरी आइसोलेसनमा राखिए पनि त्यहाँबाट संक्रमित भाग्ने गरेका छन् । संक्रमितका आफन्त सम्पर्कमा आएपछि उनीहरुलाई सुरक्षित तरिकाले घर पुर्याउने र १० दिनसम्म ‘होम आइसोलेसन’मा बस्ने भन्ने सर्तमा मात्रै उनीहरुलाई आइसोलेसन सेन्टरबाट छाड्ने गरिएको छ ।
बिहानको समयमा आइसोलेसन सेन्टर पुगेका संक्रमित सकेसम्म सोही दिन नै आफन्तको जिम्मा लागेर घर लाग्छन् । जसरी आइसोलेसन सेन्टरबाट सर्तअनुसार छाडिन्छ, त्यसरी व्यवहारमा लागू हुँदैन । संक्रमितहरु खुला रुपमा सार्वजनिक यातायात चढेर नै बाटो लाग्छन् । यसरी गएकाहरु पनि घरमा गएर सुरक्षित तरिकाले बसेका छन् वा छैनन् भनेर पनि कसैले हेर्दैनन् । प्रायः व्यक्तिलाई भारतबाट आएका कुन व्यक्ति संक्रमित भएका छन् वा छैनन् भन्ने जानकारी पनि हुँदैन ।
सीमा नाकाबाट एम्बुलेन्समा चढेर आइसोलेसनमा पुगेका संक्रमितहरु केही समयपछि भने अटोलगायत सार्वजनिक सवारीसाधनमा चढेर घरतिर जान्छन् । उनीहरुले प्रयोग गरेको अटो रिक्सा केही छिनपछि आम सर्वसाधारणले प्रयोग गर्छन् ।
‘संक्रमित इमानदार भएन’
संक्रमितका आफन्त लिन आएमा उनीहरुको जिम्मा लगाएर छाड्ने गरिएको छ । आफन्तले पनि आइसोलेसनको अगाडिबाट बिरामीलाई अलग्गै लिएर मुख्य सडकसम्म वा धनगढी बसपार्कसम्म पुग्छन् ।
त्यसपछि सार्वजनिक यातायातमै चढाएर बिरामीलाई घर लैजाने गरेका छन् । ‘हल्ला पो गर्नुहुँदैन, यहाँबाट बसपार्कसम्म मात्रै अटोमा लिएर जाने हो,’ संक्रमित व्यक्तिलाई लिन आइसोलेसन पुगेका टीकापुरका एकजनाले भने, ‘त्यहाँबाट बसमा चढेर आफ्नै तरिकाले घर जाने हो । तपाईं पनि हल्ला नगर्नुहोला ।’
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले एक–एक व्यक्ति कसरी घर गइरहेको छ भनेर हेर्न नसकिने बताए । उनले व्यक्ति पनि अब आफैँ इमानदार बन्नुपर्ने बताए । ‘आइसोलेसनबाट होम आइसोलेनमा बस्न आग्रह गर्दै आफन्तको जिम्मामा लगाउने हो,’ उनी भन्छन्, ‘सकेसम्म व्यक्ति नै इमानदार हुनुपर्छ । घरसम्म सुरक्षित तरिकाले अलग्गै सवारीसाधनमा जानुपर्छ ।’
सीमा नाकाबाट एन्टिजेन पोजेटिभ भएर आइसोलेसनमा हालसम्म ९१६ जना पुगिसकेका छन् । त्यसमध्ये ८ सय ६० जनालाई होम आइसोसेलनमा पठाइएको आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मी प्रेम रोकायाले जानकारी दिए । उनले आइसोलसनमा ५६ जना संक्रमित रहेको बताए । ‘आइसोलेसनमा पुगेकामध्ये अधिकांश होम आइसोलसनमा बस्ने गरी गइसक्छन्,’ उनले भने, ‘केही टाढा घर भएका र १० दिनसम्म आइसोलेसनमै बस्न चाहेकाहरु मात्रै यहाँ हुन्छन् ।’ १० दिनसम्म बसेर पनि स्वास्थ्यमा समस्या नदेखिएकालाई घरमा केही दिन सुरक्षित रहने सल्लाह दिएर घर पठाइने गरिएको उनले बताए ।
भारतबाट गौरीफन्टा नाका हुँदै दैनिक पाँच सयको हाराहारीमा मानिस स्वदेश फर्किरहेका छन् । यसमध्ये अधिकांशको चेकजाँच हुन्छ । चेकजाँचपछि एन्टिजेन पोजिटिभ देखिएका व्यक्तिलाई आइसोलेसनमा लगिन्छ ।
तर, भारतबाट आएका सबैजना चेकचाँचको दायरामा पुग्दैनन् । जनशक्ति व्यस्थापन अभावलगायत कारण हुलमा आएका सबै व्यक्तिलाई त्यहाँ कार्यरत कर्मचारी र प्रहरीले हेर्नै भ्याउँदैनन् । कोही चेकजाँचको लाइनमै नलागेर सबैका आँखा छल्दै फुत्किन्छन् । सीमा नाकामा बस्ने कर्मचारीले र प्रहरीले पनि उनीहरुको खासै मतलव राख्न नसकेको देखिन्छ । नाकामा अहिले जिल्ला स्वास्थ्य कार्यालयको ल्याब सेन्टर र कञ्चनपुरको पुनर्वास नगरपालिका र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य टोलीलाई चेकजाँचका लागि खटाइएको छ ।
यसअघि सो भूमि कञ्चपुर जिल्लाकै भए पनि कैलालीमातहत रहने गरेर नाकामा जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी नगरपालिकाको टोली खटिएको थियो । अहिले कञ्चनपुरले सो भूमिलाई आफ्नो मातहत राखेपछि त्यहाँ दुई जिल्लाका स्वास्थ्यकर्मी खटाइएका छन् ।
दुई जिल्लाबाट स्वास्थ्यकर्मी खटाइए पनि एकआपसमा खासै समन्वय नभएर भारतबाट आउने नेपाली नागरिकको चुस्त–दुरुस्त रुपमा चेकजाँच नभइरहेको स्थानीय बताउँछन् । तथ्यांकका आधारमा हेर्ने हो भने गौरीफन्टा नाका हुँदै फागुनदेखि हालसम्स नेपाल भित्रिएकामध्ये एन्टिजेन परीक्षण गराएका ११ हजार ८ सय १० जनामध्ये ९ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।