धनगढी: कैलालीमा सक्रिय संक्रमितको संख्या तीन सय नाघेको छ । कैलालीमा सक्रिय संक्रमितको संख्या ३ सय १९ पुगेको हो । सुदूरपश्चिमभरि सक्रिय संक्रमितको संख्या ६ सय १२ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार एकै दिन पीसीआर र एन्टिजेन परीक्षणबाट एक सय सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
५७ जनामा पीसीआर गर्दा संक्रमण देखिएको छ । निर्देशनालयको तथ्यांकअनुसार कैलालीपछि धेरै सक्रिय संक्रमित संख्या १ सय ७६ कञ्चनपुरमा छन् । यस्तै बैतडीमा ५६, डोटीमा २७, डडेलधुरामा २३, अछाममा ४, बाजुरामा २, बझाङमा १ र अन्य दुई जना सक्रिय संक्रमित रहेका छन् । सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा सरकारी अस्पताल १२ वटा छन् । ती सबै अस्पतालमा कुल बेड संख्या ९ सय २२ छ । तर सक्रिय संक्रमितको संख्या नै ६ सय नाघिसकेकाले तीमध्ये सिकिस्त भएर अस्पताल भर्ना गर्नुपर्ने संक्रमितको संख्या पनि दिनदिनै बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा कोभिड आईसीयू बेड संख्या २७ र कोभिड भेन्टिलेटरको संख्या १९ मात्रै छ ।