धनगढीः सुदूरपश्चिमका बजारमा बहुराष्ट्र कम्पनी कोकाकोलासहित म्याद नाघेका खाद्य वस्तु छ्यापछ्याप्ती बेचिने गरेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरी नमूना परीक्षण गर्दा धनगढीको राम ब्रदर्शले बेच्न राखेको बोट्लर्स नेपाल तराई लिमिटेलले उत्पादन गरेको कोकाकोला म्याद गुज्रिएको अवस्थामा पाइएको हो।
त्यस्तै धनगढीकै चेतन स्टोरले बेच्न राखेको गेटाको आरपी बेकरीले उत्पादन गरेको सितारा नामक रस्क खस्ता पनि म्याद नाघेको पाइएको छ।
कार्यालयले चालु आर्थिक वर्षको हालसम्म बजार अनुगमन गरी १ हजार ९३ नमूना परीक्षण गरेको छ। जसमध्ये २४ वटा कम्पनीले उत्पादन गरेका खाद्य पदार्थ दूषितसमेत पाइएको हो।
दूषित, न्यून गुणस्तरीय र मिसावटयुक्त खाद्य वस्तुको उपभोगले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सर्वप्रथम उपभोक्ताहरू स्वयम् सचेत रहन जरूरी छ।
बजारमा बिक्री वितरण हुने खाद्य वस्तु म्याद नाघेका, दूषित र न्यून गुणस्तरीय पाइएपछि खाद्य वस्तुको लेबर विवरण, उत्पादन र उपभोग मिति हेरेर मात्र वस्तु खरिद गर्न विज्ञहरूले आम उपभोक्तालाई सुझाव दिएका छन्।