धनगढी: जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँमा हुने मदिराको विक्रि वितरण रोकिनुपर्ने भन्दै बाँस टोलका महिलाहरुले वडा कार्यालयमै पुगेर सोमबार तालाबन्दी गरेका हुन्।
गाउँमै मदिराको विक्रि वितरण भईरहेको र यसले महिला र बालबालिका समस्यामा परेकाले आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय झीमा बिष्टले दिईन्। आफूहरुले गिट्टी कुटेर आम्दानी गरेको पैसा समेत बचत गर्न सकिने अवस्था नरहेकाले गाउँमा भएको मदिरा पसल हट्नुपर्ने आफूहरुको माग महिलाहरुले बताएका छन्।
गाउँमा रहेको मदिरा पसल बन्द गर्न आफूहरुले पटक पटक माग गरेको र मागको सुनुवाई नभएपछि वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय पशुपति बिष्टले गुनासो गरिन्।
यो बिषयमा वडा अध्यक्ष दिलाराम भट्टले मदिरा व्यवसायीलाई आफूले गाउँमा मदिराको कारोबार नगर्न आग्रह गरेको तर बन्द गर्न आदेश दिन नसकिने बताए।