बझाङ : सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै बझाङ जिल्लामा विप्लव समूहका गतिविधि बढ्दै गएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका नेता नेत्र विक्रम चन्द विप्लवले एकै मञ्चबाट सम्बोधन गरेपछि र पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई जेलमुक्त गर्ने सरकारसँग समझदारी भएपछि विप्लव समूहका गतिविधि बढ्न थालेका हुन्।
बिहीबार विप्लव समूहका जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थी जेलमुक्त भएका छन्।
जेठ ४ गते आफ्ना विद्यार्थी सम्मेलनलाई प्रचार प्रसार गर्न शुक्रबार सदरमुकाम चैनपुरका विभिन्न ठाउँका भित्ताहरुमा विप्लव समूहका नेता कार्यकर्ताले ‘जातीय विभेद अन्त्य गरौं‘, वैज्ञानिक समाजवाद जिन्दावाद,ु लगायत वैज्ञानिक समाजवादी व्यवस्थाका एकीकृत जनक्रान्ति नाराले रंगाएका छन्।
जो भए पनि वैज्ञानिक समाजवादमा गलत प्रवृत्तिको विरोध गर्दै सकारात्मक सोचको विकासमा हातेमालो गर्न विप्लव समूह नै उत्तम रहेको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कमल थापाले बताए।
साथै सडकका भिताहरुमा नाराहरु लेख्दै विप्लव समूहका नेता कार्यकर्ताले वैज्ञानिक समाजवादका लागी विप्लव समूहमा लाग्न आम नागरिकलाई अनुरोध पनि गरे।
जिल्ला कारागार बझाङमा विप्लव समूहका ५ जना नेता कार्यकर्ता भए पनि एक जना भने बिहीबार छुटेका छन्। साथै अन्य नेता कार्यकर्तालाई रिहाइ गर्न पनि सरकारसँग उनीहरूले माग गरेका छन्।