काठमाडौं : काठमाडौंका धारामा आइतबार दिउँसो मेलम्चीको पाउन आउन शुरु भएको छ। काठमाडौं उपत्यकामा पहिलो पटक मेलम्चीको पानी वितरण शुरु भएको हो। महांकाल क्षेत्रबाट मेलम्चीको पानी वितरण शुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटिेड केयूकेएलले जनाएको छ।
केयूकेएलका अनुसार आइतबार दिउँसो दुई बजे महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण गरिएको छ। सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट चक्रपथ वितरणका लागि बिछ्याएको पाइप लाइनको परीक्षण सफल भएपछि महाँकाल चौरस्थित ट्यांकीमा मेलम्चीको पानी आइपुगेको हो।
पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिइएको केयूकेएलले जनाएको छ। यस्तै नयाँ पाइप लाइनको परीक्षणपनि सँगसँगै गरिँदै जाने सफल भएका स्थानमा वितरण गरिने बताइएको छ।
पहिलो चरणमा आइतबार दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा मेलम्चीको पानी जम्मा हुने केयूकेएलले जनाएको छ। आइतबार साँझ अनामनगर, मीन भवन तथा खुमलटार क्षेत्रमा मेलम्चीको पानी वितरण हुनेछ।