धनगढी : धनगढीमा सामाजिक कुरीति बिरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा सोमवार धनगढीमा बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोप लगायतका विषयमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा हालैको अवस्थामा घटेका महिला सम्बन्धि घटनाहरूले छोरीले बाउ प्रति आफन्तप्रति विश्वास नगर्ने अवस्थाको सिर्जना भएको बताए । महिलामाथि हुने हिंसालाई रोक्न सम्पूर्ण निकायले एकजुट भएर लाग्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले महिला हिंसाको अन्त्य र न्यायका लागी आयोगले सबै सरोकारवाला निकाय सँग साझेदारी गरिरहेको बताइन् ।
पिडकले केही समय सजाय पाए पनि पुनः आएर पीडितको परिवारलाई धम्काउने डराउने जस्ता कार्यहरू भइरहेको भन्दै उनले पिडक माथि शून्य सहन शीलताको अवधारणा ल्याउनु पर्ने कडा भन्दा कडा कारबाही हुनुपर्ने बताइन् ।
महिलाहरू हिंसाहरूका उजुरी प्रहरी समक्ष अझै पनि ५० प्रतिशत मात्र पुग्न सकेको सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । पछिल्लो समय प्रहरी समक्ष बढी जसो उजुरी मानसिक हिंसामा रहेको उनले जानकारी दिए ।
राष्ट्रिय महिला आयोगका उपसचिव श्याम प्रसाद श्रेष्ठले महिला आयोगको गठन प्रक्रिया लगायतका विषयमा जानकारी प्रदान गरे ।सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा ८५ र महिला विरुद्ध हिंसाका १६ उजुरी महिला आयोगमा दर्ता भएको उनले जानकारी दिए । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।