धनगढीः चिसो मौसम छल्न बेँसीतिर झरेका भेडी गोठहरू पुनः लेकतिर फर्कन थालेका छन् । हिमाली भेगबाट चिसो छल्न सुदूरपश्चिमको बाजुरा, बझाङ, अछाम, दार्चुला लगायतका क्षेत्रबाट भोटे समुदाय लालाबालासहित बेँसीतिर आउने गर्छन् । बाजुराका हिमाली क्षेत्रका भोटे समुदाय अछामको साँफेसम्म पुग्छन् ।
उच्च हिमाली भेगमा राम्रो चरन क्षेत्र र घाँसे मैदान हुने भएकाले बर्खामा भेडी गोठ लेक तथा खर्कमा सार्ने गरेको बाजुराको मालिका बजारमा भेडासँगै भेटिएका राम गुरुङले बताए । भेडी गोठ ६ महिना लेक र ६ महिना बेँसीमा रहने गरेको उनले बताए ।
अहिले उकालो लागेका भेडी गोठहरू जाडो बढ्न थालेपछि पुनः बेसी झर्ने गर्छन् । उनीहरूको दिनचर्या भेडा पालनबाटै चलिरहेको छ । भेडी गोठमा रहेका भेडाहरूको ऊन तथा मासुबाट वार्षिक करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको भेडा व्यवसायमा लागेकाहरूको भनाइ छ ।
भेडाको ऊनबाट स्थानीयले राडी–पाखी लगायत उनका कपडा बनाएर बिक्री गर्छन् । भेडी गोठ भएका कृषकहरूले आफ्नो खर्च कटाएर लाखौँ रुपैयाँ आम्दानी गर्छन् । मौषमी बसाई–सराइ गर्दै आएको यो समुदाय मंसिरदेखि फागुनसम्म बेसी झरेर बस्ने गर्छ । बाँकी महिना आफ्नै थातथलोमा फर्कने गर्छन् । बेसी झर्दा भेडा–बाख्रादेखि पूरै परिवार साथमा लिएर आउने उनीहरु पुनस् त्यसै गरी उकालो लाग्छन् ।
बाजुराको हिमाली गाउँपालिका घर भएका सुनी गुरुङ भोटेले हिमाली भेगमा धेरै चिसो हुने भएकाले हिउँदको समयमा घर छोडेर पूरै परिवार बेँसी आउने गरेको बताए । सुनीले आफ्नो पुर्ख्यौली पेसा भेडा, बाख्रा पाल्ने भएकाले आफूहरू यही व्यवसायमा रमाइरहेको बताए । उनले आफूहरूसँग छोरा–छोरीसँगै हिँड्नु पर्ने भएकाले छोरा छोरीले विद्यालय जान नपाएको गुनासो गरे । बाजुरामा भोटे जनजातिहरू चिसो छल्न बेसी झरेपछि जिल्लाको हिमाली क्षेत्र गुम्बा गाउँ र पाण्डुसैन सुनसान हुन्छन् ।
