बझाङ : बर्खायाममा हिलाम्मे हुने बझाङका कच्ची सडक हिउँद लागेसँगै धुलाम्मे हुनेगर्छ। हिउँदे झरी नै नपरेपछि यसपटक त सडक हुँदै आवतजावत गर्न नै समस्या परिरहेको छ।
ट्रयाक खनेर स्तरोन्नती नै नगरी छाडिएका कच्ची सडकमा सवारीसाधन, गाईबस्तु र मानिस हिँड्दा पनि कुहिरी मण्डल धुलो उड्ने गरेको छ। सडक व्यवस्थापन र धुलो नियन्त्रण गर्नेतर्फ स्थानीय निकायका पदाधिकारीहरू र कर्मचारीहरूले कुनै चासो दिएका छैनन्। धुलोका कारण नागरिकको स्वास्थ्यमा असर परिरहेको छ।
जताततै डोजर चलाइएका कारण यस वर्ष सडकहरू अत्याधिक धुलाम्मे भएका हुन्। चैनपुरदेखि भोपुर सडकखण्ड निर्माण क्रममा अहिले सडक निकै धुलाम्मे बनेको छ। सडक निर्माण क्रममा बिटुमिन तताउँदा निस्किएको धुवाँ र धुलोका कारण विद्यालय आवतजावत गर्न निकै अप्ठ्यारो भएको सत्यवादी माध्यमिक विद्यालय भोपुरका विद्यार्थी गणेशराज बोहराले बताए।
बाटोमा गाडी आवतजावत हुने भएकाले आफूहरूले लगाएको विद्यालय पोशाकसमेत धुलाम्मे हुने र मानिस ने नचिनिने अवस्था हुने गरेको जयपृथ्वी बहुमुखी क्याम्पसका विद्यार्थी मान बहादुर बोहोराले बताए। उनका अनुसार आवतजावत गर्ने क्रममा सवारीसाधनहरूले समेत द्रुत गतिमा सवारी चलाउँदा झनै समस्या हुने गरेको छ।
सर्वसाधारण र विद्यार्थीहरूले धुलो छल्न मास्क, मखलर प्रयोग गरेपनि धुलोका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरूले बताउने गरेका छन्। धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेको छ।
सडकमा अत्यधिक धुलो उड्ने समस्या समाधान गर्न छिटोभन्दा छिटो ध्यान दिनु र सवारीसाधन आवतजावतमा रोक लगाउन विद्यार्थीहरूले माग गरेका छन्।
विज्ञहरूका अनुसार धुवाँ र धूलोमा रहने २।५ पीएमभन्दा साना कणहरू प्रत्यक्ष मानिसको फोक्सोमा पुग्नेगर्छ। प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी र १४ प्रतिशतलाई फोक्सोको क्यान्सर हुने चिकित्सकहरू बताउँछन्।